नियम २१
जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावको प्रस्तुती
(१) नियम २० को उपनियम (१) बमोजिम प्राप्त भएको जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव सात दिनपछि बसेको संयुक्त सदनको बैठकमा पेश गर्न सकिनेछ ।
(२) जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावको विरोध गर्न चाहने सदस्यले जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव वितरण भएको पाँच दिनभित्र त्यसको सूचना महासचिवलाई दिनु पर्नेछ ।
(३) जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावको विरोधको सूचना प्राप्त भएकोमा विरोधकर्ता र प्रस्तावक सदस्यलाई सभामुखले क्रमशः संक्षिप्त वक्तव्य दिन अनुमति दिनेछ । तत्पश्चात सो प्रस्तावमाथि थप छलफल नगरी सभामुखले बैठकको निर्णयार्थ प्रस्तुत गर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्णयार्थ प्रस्तुत गर्दा विरोधको सूचना संयुक्त बैठकबाट अस्वीकृत भएमा प्रस्तुतकर्ता सदस्यले जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछ । छलफलको अन्त्यमा प्रस्ताव प्रस्तुतकर्ता सदस्यले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछ ।
(५) जनमत सङ्ग्रहको प्रस्तावमाथि सामान्य छलफल भएको एक सय बीस घण्टाभित्र सो प्रस्तावमाथि संशोधन पेश गर्न सकिनेछ ।
(६) उपनियम (४) बमोजिमको प्रस्ताव पारित भएपछि सभामुखले जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव उपर छलफल गर्ने दिन र समयावधि निर्धारण गर्नेछ ।